बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ देवनीयाधामकी दीया भट्टराईले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सब मनाएकी छिन् ।
चार बर्षको उमेरदेखि अमेरिका बस्दै आएकी दीयाले शनिवार आफ्नो निवास देवनीयाधाममा जेष्ठ नागरिकलाई सम्मान गरेर १४ औं जन्मदिन मनाएकी हुन् । स्थानीय ७५ देखि ९५ बर्षसम्म उमेर समुहका २७ जना जेष्ठ नागरिकलाई दोसल्ला, मालाले सम्मान गर्दै खाना खुवाएर जन्मोत्सव मनाएकी छिन् ।
१४ पूरा गरी १५ बर्ष प्रवेश गरेकी दीया ४ बर्षको उमेरमा अमेरिका गएकी र पहिलो पटक नेपाल घर आएकी दीयाका ठूलोबुबा भरत भट्टराईले जानकारी दिए । उनका अनुसार दीया संस्कारी छिन् भने समाजमा उदाहरणीय कार्य गर्ने सोच बनाएर उनले जेष्ठ नागरिकलाई सम्मान गरेकी हुन् ।
कार्यक्रममा सवैभन्दा जेष्ठ नागरिक ९५ बर्षिय रबिलाल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा भट्टराई कुलबंश प्रतिष्ठान झापा अध्यक्ष धमेन्द्र भट्टराई (मामा), राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल (बराल), प्याब्सनका केन्द्रिय उपाध्यक्ष नारायणप्रसाद घिमिरेलगायतले शुभकामना दिएका थिए । दीयाका आमाबुबा मदन र राधिका भट्टराईले सानै उमेरदेखि अमेरिकामा बसेपनि सामाजिक कार्यप्रतिको मोह रहेको भन्दै खुसी ब्यक्त गरे । कार्यक्रमको सञ्चालन नवराज भट्टराईले गरेका थिए ।