बिर्तामोड।
अपांगतामैत्री सार्वजनिक यातायात सेवा र सडक तथा भौतिक संरचनाका लागि सरोकारवालाले ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार विश्व सेतोछडि दिवसको सन्दर्भमा झापा नेत्रहीन संघ र संवाद समूह झापाले बिर्तामोडमा आयोजना गरेको ‘अपांगतामैत्री सडक संरचना, सवारी पार्किङ र सार्वजनिक यातायात सेवाः अवस्था र सुधारका लागि सरोकारवालाको भूमिका÷प्रतिवद्धता’ विषयक जिल्लास्तरीय संवादमा सहभागी सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेपालमा अपांगता भएका व्यक्तिहरुले सडक तथा अन्य सार्वजनिक भौतिक संरचना र सार्वजनिक यातायातको प्रयोगमा भोगिरहेका समस्याहरुका विषयमा नेत्रहीन संघका तर्फबाट दिलकुमार राजवंशी, सिर्जना बराल, अपांगता स्वावलम्बन संस्था बिर्तामोडका अध्यक्ष दीपक थापाले जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले अपांगता भएकाहरुको सहज आवागमनका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने भन्दै आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपांगता भएकाहरुको सार्वजनिक यातायातमा पाउने भाडा छुट, आरक्षण सिटको व्यवस्था कार्यान्वयनमा तत्काल पहल गर्ने बताए । यस विषयमा सबै सरोकारवालाको ध्यानाकर्षण गराउन जरुरी रहेको न्यौपानेको भनाइ छ । सडक डिभिजन दमकका इन्जिनियर उज्वल खतिवडाले सडक संरचनाहरु डिजाइन गर्दादेखि नै अपांगतामैत्री बनाउने सिस्टमलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीले अपांगता भएकाहरुका लागि राज्यबाट व्यवस्था भएका नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीले कुनै कमी नराखेको बताए ।

सोही अवसरमा बुट्टाबारी निवासी कृष्ण गिरीले १० वटा सेतो छडि खरिदका लागि ८ हजार रुपैयाँ झापा नेत्रहीन संघलाई प्रदान गरे । दाता गिरीको तर्फबाट सो रकम स्वच्छ समाजका लागि सामाजिक अभियान झापाका अध्यक्ष गणेश ढुंगानाले नेत्रहीन संघका सल्लाहकार द्रोणचार्य निरौला, अध्यक्ष सिर्जना बराललगायतलाई हस्तान्तरण गरे ।