ताप्लेजुङ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको अम्वर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुनबहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका–५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन् ।

गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका  बिभिन्न गरगहनाहरु र नगद ११ लाख ६३ हजार २ सय ५० रुपैयाँ समेत डाँका गरी भागेको घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई  सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया र १ थान पेस्तोलसहित पक्राउ गरिएको हो ।

पक्राउ गर्ने क्रममा गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका  पाँचथरको फालेलुङ–८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको ताप्लेजुङ जिल्ला अदालतबाट डाँका मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।