मेचीनगर । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ मा  आइतबार रातीको अविरल वर्षाका कारण खोला तथा नदीमा ठूलो बाढी आएको छ भने बाढीका कारण नदी किनारका बस्ती डुवानमा परेका छन् । पहलेधाप धरधरे लगायतको क्षेत्र डुबानमा परेको हो । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । सो क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले  उक्त वडाका धेरै स्थानका स्थानीयहरुको जनजीवन प्रभावित भएको छ ।

बाढीका कारण विद्युतका पोल ढल्ने अवस्थामा छन् भने रुखहरु ढलेका छन् । धानसहितको खेती कटान भएको छ भने अधिकांश खेती भएको जमीन पुरिएर धानबालीमा क्षति पुगेको छ । मेचीनगर—३ मा सुकेनिन्दा, दोरोङ्गे र बाघपानी नदीमा आएको बाढीका कारण पहलेधाप धरधरेलगायतका क्षेत्रमा क्षति पुगेको स्थानीय ज्ञानबहादुर तामाङले जानकारी दिएका हुन् । 

नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर वडा नं ३ का वडाध्यक्ष हर्क बस्नेतलगायतको टोलीले सोमबार बाढी प्रभाभित क्षेत्र र क्षतिको स्थलगत अवलोकन गरेको छ । टोलीलाई स्थानीय सुर्यमान तामाङले इन्द्र पुलामी मगर, पुष्प पुलामी मगरको घर डुवानमा परेको, सुरज खातीको गाई बगाएकोलगायतका बाढी पुर्याएको क्षतिका बारेमा जानकारी दिइएको थियो ।   

नगरप्रमुख बुढाथोकीले बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गदैं तत्काल र दीर्घकालिन रुपमा त्यसको समाधान स्थानीय सरकारले गर्ने स्थानीयवासीलाई आश्वासन दिएका छन् ।