झापा । 

तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको बिषयलाई लिएर बिर्तामोड नयाँ बसपार्कमा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त घटना संलग्न उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले सोमवार (आज) पत्रकार भेटघाट गरी सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा –११ स्थित ताप्लेजङ इलाम होटलका सचालक ३८ वर्षिय इन्द्रबहादुर अधिकारी, सोही होटलका स्टाफ २१ वर्षिय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षिया बिमला राई रहेका छन् । 

घटनामा संलग्न एकजना फरार रहेका छन् । दशैंको महानवमीका दिन ताप्लेजुङ सिदिम्बा गाउँपालिका वडा नं ४ सुरुमखिम घर भई अर्जुनधारा ११ बसपार्क एरियामा बस्ने २५ वर्षिय नविन्द्र गुरुङलाई उनीहरुले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ । होटलको पहिलो तलामा होटलका सञ्चालक अधिकारी, होटलका स्टाफ आचार्य, मृतक गुरुङ र अर्का एक जना मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको बिषयलाई लिएर विवाद उत्पन्न भएर झगडा भएको थियो । 

त्यस क्रममा होटल सञ्चालक अधिकारी, होटलका स्टाफ आचार्य र अर्का फरार एक जना मानिसले गुरुङलाई मसला पिस्न प्रयोग हुने ढुङगाको लोहोरो र चक्कु प्रयोग गरी टाउकोको पछाडि पट्टिको भागमा पटक पटक र नाकमा समेत प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बनाई सोही राति घटना ढाकछोप गर्ने मनसायले उक्त होटलबाट अचेत अवस्थाका गुरुङलाई १५० मिटर टाढा कान्तिपुर ड्राइभिङ सेन्टर अगाडिको प्लटिङ रहेको खाली जग्गाको उतरतर्फ जाने सडक बाटो किनारामा फालिदिएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । उनीहरुमाथि कर्तब्य ज्यानको मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताएका छन् ।

उनले होटल संचालक अधिकारी सोही होटलबाट असोज २० गते, होटल स्टाफ आचार्य सोही दिन पाँचथरबाट पक्राउ परेको र उनकी श्रीमती राई पनि भागेर पाँचथर गई लुकिछिपी बसेको अवस्थामा असोज २० गते नै पक्राउ परेको प्रहरीले जनाएको छ । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने जानकारी दिइएको छ ।