झापा ।
बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज (मंगलबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ ।
दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिएर पायस पनि चढाउने गर्दछन् ।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ ।मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ
महानवमीका अवसरमा कोतहरूमा हर्ष बढार्इका साथ कोतपूजा र निशानपूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने चलन छ ।