बिर्तामोड । 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका सल्लाहकार तथा सामाजिक ब्यक्तित्व नरनाथ गिरीले समाजलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् । 

नगर समितिले आइतवार बिर्तामोडमा आयोजना गरेको २०७९ को वडादशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा गिरीले यसअघि समाजको कोष स्थापनाका लागि घोषणा गरेको ५० हजार रुपैयाँको चेक समाजका नगर अध्यक्ष अर्जुन गिरीलाई हस्तान्तरण गरेका हुन् । 

समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नरनाथ गिरीले चेक हस्तान्तरणसँगै बन्धुहरुका लागि गठन भएको समाजमा सवै एकताबद्ध हुन आग्रह गरे । उनले सवैले सकेको आर्थिक सहयोग गरेर समाजको कोष स्थापना गरेर बन्धुहरुमा आइपर्ने समस्या सामाधन गर्न जोड दिए । 

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि, समाजका प्रदेश नं. १ अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरीले समाजमा गर्न सक्ने बन्धुहरुलाई ठाउँ नदिने प्रबृत्तिले गर्दा समस्या भएको बताएका छन् । ‘जो सक्षम छ, योग्य छ, केही गर्न सक्छ त्यस्तो ब्यक्तिले ठाउँ नै पाउँदैन’ प्रदेश अध्यक्ष गिरीले भने ‘जसले काम गर्दैन त्यसैलाई ठाउँ चाहिन्छ ।’ उनले काम गर्न सक्ने ब्यक्तिलाई स्थान दिनु पर्ने बताए । 

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि तथा नगर सल्लाहकार उमेश भारतीले दशनामी बन्धुका विविध क्षेत्रका अग्रज र शहिदहरुको सम्झना र उनीहरुको योगदानको चर्चा गर्दै जिल्ला नगर तथा वडा समितिमा उनीहरुका तस्वीरहरु राखेर सम्मान गर्नु पर्ने बताए । 

स्वागत समाजका बरिष्ठ उपाध्यक्ष नारायण गिरीले गरेको कार्यक्रममा बिशेष अतिथि, समाजका झापा कोषाध्यक्ष तथा नगर सल्लाहकार बालकृष्ण गिरी, नगर सदस्य घनश्याम गिरी, खेमराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन समाजका सचिव उद्धव पुरीले गरेका थिए । कार्यक्रममा एकअर्काप्रति बडादशैं, तिहार, छठ तथा नेपाल सम्वत्को शुभकामनासहित चियापान गरिएको थियो । आगामी शुभ दिपावलीको अवसर पारेर समाजले नगर भित्र रहने दशनामी बन्धुहरुको घरमा देउसी भैलो कार्यक्रम गरेर कोष स्थापना गर्ने निर्णय गरेको नगर अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । 

dasnami samaj