बिराटनगर ।

मोरङको बिराटनगर महानगरपालिका–८ जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीलाई उपचारको लागि अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालबाट भागेर फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानविन समिति गठन गरेको छ । 

शनिवार (आज)   मोरङ कारागारबाट लागू औषध मुद्दाका कैदी २८ बर्षीय मन्जिल गुरुङ र जवस्जस्ती करणी मुद्दाका कैदी २८ बर्षीय राजकुमार हेमरनलाई उपचारको लागि बिराटनगर–७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुबै जना फरार रहेका छन् ।

कैदी भागेर फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोलीसहित ५ सदस्य छानबिन समिति गठन गरेको जनाइएको छ । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपमा  गएर सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।