सुरुङ्गा ।
खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ ।
‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणका लागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएको हो । एक हप्ता अघि मात्र सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट स्थानीय युवा सामाजिक अभियन्ता छवि थपलियाको नेतृत्व पाएको प्रतिष्ठानले नयाँ समितिको पहिलो बैठकबाट भएको निर्णय अनुसार आफ्नो गतिविधि अघि बढाएको हो ।
वडा दशै २०७९ को फुलपातीका दिन कनकाई माविको खेलमैदानमा जिल्लास्तरीय एक भव्य सन्थाल मेलाको आयोजना गरेको छ । प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्येश्यका साथ आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलाको आयोजना गर्ने जनाएको छ । सुरुङ्गामा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै प्रतिष्ठानका तर्फबाट अध्यक्ष छवि थपलियाले प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत संचालन गर्दै जाने योजना बनाएको बताए । यसै सन्दर्भमा लोप हुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्ने उदेश्यका साथ वडा दशैको अवसर पारेर बृहत सन्थाल नृत्य प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थपलियाले जानकारी दिए ।
खेलकुद प्रतिष्ठानको मुख्य उद्येश्य खेलकुदका गतिविधिसँग जोडिएको भएता पनि संस्था स्थापनाकालदेखि नै खेलका गतिविधि मात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले जानकारी दिए । यसै सन्दर्भमा लोपोन्मुख सन्थाल संस्कृतिको जगेर्ना गर्दै वडा दशैंको अवसरमा देशविदेशबाट चाडपर्व मान्न घरमा आएका स्थानीयवासीका लागि मनोरञ्जन समेत हुनेगरी कार्यक्रमको आयोजना गरिएको संस्थापक अध्यक्ष उप्रेती बताउँछन् ।
प्रतियोगितात्मक सन्थाल मेलाका लागि हाल झापाको विभिन्न स्थानमा बसोबास गर्दै आएका सन्थालहरुले समूह दर्ता गरिरहेको बताइएको छ । कार्यक्रममा जिल्लाभरका १८ वटा सम्म सन्थाल समूहको सहभागिता रहन सक्ने प्रतिष्ठानक उपाध्यक्ष हरि कार्कीले जानकारी दिएका छन् । प्रतियोगितात्मक सन्थाल मेलामा निर्णायकको भुमिकामा सन्थाल समूहबाटै दुई जना र अन्य तीन जना गरी पाँच सदस्यीय निर्णायक समिति रहने छन् ।
प्रतियोगितामा पुरस्कार स्वरुप प्रथमले नगद ३१ हजार , द्वितीयले नगद २५ हजार , तृतीयले नगद २१ हजार , चौथोले नगद १८ हजार र पाचौंले १५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार समेत प्रदान गरिनेजनाइएको छ ।
मेला सम्पन्न गर्नका लागि तीन लाख रुपैंया भन्दा बढी रकम लाग्ने प्रतिष्ठानको अनुमान छ । जसका लागि कनकाई नगरपालिकाले एक लाख , कनकाईको वडा नं. ३ बाट प्रथम पुरस्कार, वडा नं.४ बाट दोस्रो पुरस्कार वडा नं. २ बाट तेस्रो पुरस्कारको व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा सहभागीहरुको भेषभुषा, नृत्य प्रस्तुती, सहभागी संख्या लगायतको मुल्यांकन हुने जनाइएको छ ।
चौथो पुरस्कार समाजसेवी एकराज उप्रेतीबाट सहयोग प्राप्त हुने भएको छ । त्यस्तै नगरका अन्य वडाहरुसँग पनि .२० हजार रुपैयाँका दरले सहयोग प्राप्त हुने आयोजक समितिले अपेक्षा राखेको बताइएको छ ।