सुरुङ्गा ।
वातावरण संरक्षण का लागि हाम्रो प्रयास, नविकरणीय उर्जा बाट घर घरमा ग्यास भन्ने मुल नाराका साथ निर्माण भइरहेको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला ब्यवस्थापन कम्पनीको साधारणसभा सम्पन्न भएको छ ।
झापाको कनकाई नगरमा कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाको अध्यक्षतामा मंगलबार (आज) भएको साधारण सभामा निवर्तमान सांसद हिरा थापाको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत सदस्य कुमारमणि पोखरेलले गरेको कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष दीपक कार्की, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, स्वतन्त्र नागरिक कार्य सम्पादन समुहका संयोजक शेरबहादुर थापा, नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय सदस्य ओमकृष्ण बिमलीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कम्पनीको प्रवन्ध निर्देशक तथा सञ्चालक दीपक चापागाईले गरेका थिए ।
झापाको कनकाई २ मा कनकाई नगरपालिकाको नेतृत्व र अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको सहभागितामा नगरहरुमा उत्पादित फोहोरमैला ब्यवस्थापन गर्ने उदेश्यले समिति गठन भएको थियो ।
कनकाई नगरका तत्कालिन मेयर राजेन्द्रकुमार पोखरेल उपस्थितिमा २०७५ बैशाख १५ गते समिति गठन भएको समितिका अध्यक्ष मिनाल तिम्सिनाद्धारा साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । २०७५ साल जेष्ठ १५ गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी ऐन बमोजिम पब्लिक लिमिटेड कम्पनी दर्ता गरि कार्य शुरु भएको थियो ।
अध्यक्ष तिम्सिनाद्धारा प्रस्तुत प्रतिवेदन अनुसार तिनवटै नगरपालिकामा उत्पादित फोहोरको फिजिबिलिटि अध्ययनसँगै अवधारणा पत्र समेत तयार गरि फोहोर मैला व्यवस्थापनको कार्यलाई संयुक्त रुपमा सम्पन्न गर्ने प्रतिबद्धता समेतमा कनकाई बिर्तामोड, अर्जुनधारा नगरपालिकाले हस्ताक्षर गरेका थिए ।
कनकाई बिर्ता अर्जुन नविकरणिय उर्जाले ग्लोबल टेन्डर आव्हान गरि कनकाई नगरपालिकाको सिफारिसमा नेपाल बिज्ञान प्रज्ञा प्रतिष्ठानको सहयोगमा भारतीय कम्पनीजीजीइ छनौट गरेका थियो ।
भारतीय कम्पनि जि जी इ ले तयार गरेको डिटेल प्रोजेक्ट रिपोर्टलाई, नेपाल सरकार बैकल्पिक उर्जा प्रबर्धन केन्द्र नेपालले नेपाली परामर्श दाता श्री विन्ड पावर प्रालि लाई अध्ययन गराई कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिकाको फोहोर मैला बाट उर्जा उत्पादन गर्ने बिस्तृत सम्भाव्यता अध्ययन प्रतिबेदन तयार पारि नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्धन केन्द्रको प्राबिधिक समितिले २०७६ साल असार ८ गते स्वीकृत प्रदान गरेका थियो ।
प्राबिधिक समितिको स्वीकृतिपछि २०७६ असार ९ गते नेपाल सरकार बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको पत्र मार्फत ४० टन क्षमता को प्लान्ट निर्माणको लागि स्वीकृत १३ करोड ६६ लाख २४ हजार २१ मध्ये नेपाल सरकारको अनुदान २०७३ बमोजिम अधिकतम अनुदान रकम ५ करोड ४६ लाख ४९ हजार ६ सय ८ रुपैयाँ केन्द्रबाट उपलब्ध हुने ब्यहोरा जानकारी पत्र कनकाई बिर्ता अर्जुन नविकरणिय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा प्राप्त भएको थियो ।
सोही पत्रका आधारमा कनकाई, बिर्तामोड, अर्जुनधारा नगर र नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय बैकल्पिक उर्जा प्रबर्धन केन्द्र बीच २०७६ साल असार ३० गते संयुक्त फोहोर मैला व्यवस्थापन गर्न र फोहोर मैलाबाट उर्जा उत्पादन परियोजना संचालन गर्ने सम्बन्धि अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
साथै बिस्व बैंक समेतको सहयोगमा सञ्चालन हुने यस परियोजनाको सम्झौतामा उल्लेख भए बमोजिमको परियोजना कार्यन्वयनका लागि बैकल्पिक उर्जा प्रबर्धन केन्द्र को २०७६ साल श्रावण ४ गतेबाट कार्यादिश प्राप्त भएको प्रतिवेदनमा छ ।
कम्पनीले बायोग्यास तथा कम्पोस्ट मल उत्पादनको लागि आवश्यक मेशिन तथा उपकरण खरिदका लागि प्रबिधि छनौटको सहयोगमा २०१९ फेब्रुअरी १ मा सम्झौता गरि सामग्रीहरु समेत प्राप्त गरि जडान कार्य सुचारु भईरहेको जानकारी दिएको छ ।
कम्पनीले हालसम्म बैकल्पिक उर्जा प्रबर्धन केन्द्रबाट सम्झौता बमोजिमको रकम ५ करोड ४६ लाख ४९ हजार ६ सय ८ रुपैयाँ मध्ये पहिलो किस्ता बापत २ करोड ७७ लाख ५७ हजार ९२६, कनकाई नगरबाट ६१ लाख ८३ हजार २३८, अर्जुनधारा नगरबाट ३० लाख कम्पनी संस्थापक शेयरधनिबाट ४ करोड १ लाख ८० हजार, बैंक ऋण बाट ३ करोड ९१ लाख ५३ हजार ५११ र बाँकी व्यक्तिगत सापटी बाट २ करोड ७८ लाख ५७ हजार ४ सय १२ रुपैयाँ ८८ पैसा गरि कुल १४ करोड ४१ लाख ३२ हजार ८९ रुपैयाँ खर्च गरिसकिएको प्रतिवेदनमा उल्लेख छ ।
कनकाई नगरपालिकाबाट १५ लाख, बिर्तामोड नगरपालिकाबाट १५ लाख, अर्जुनधारा नगरपालिकाबाट १० लाख, प्रदेश सरकारबाट ५० लाख प्राप्त गरि उपभोक्ता समिति मार्फत खर्च गरि हिसाब पनि सम्बन्धित निकायसँग फरफार गरिसकेको कम्पनीले जनाएको छ ।
पटक पटक को लक्डाउन लगायत बिबिध कारणले निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेका कारण लागत खर्च बढ्दा चुनौती समेत थपिएको साधारण सभामा जनाइएको छ । सो अवस्थालाई मध्यनजर गरि फोहोरको दीगो व्यवस्थापन सहित कम्पनिलाई सहज बाताबरणमा संचालनका लागि तिनवटै नगरपालिकाहरु सँग लगानी साझेदारी समझौता समेत सम्पन्न भई प्रबन्ध पत्र तथा नियमावलीमा संसोधन गर्न आवश्यक रहेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।