मेचीनगर।
झापाको मेचीनगर नगरपालिकाले समयमा निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारबाट पाँच करोड ६६ लाख जरिवाना निर्वाचन आयोगले असुल्ने भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भएपछि मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने नियम आयोगको थियो । तर, सो विवरण पेश नगर्ने तथा विलम्व पेश गर्ने उम्मेदवारहरूलाई कानुन बमोजिम जरिवाना कायम भएको हो ।
जरिवाना तिर्नेमा निर्वाचित मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मीनाकुमारी पोख्रेल देखि २ सय ६८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयले आइतबार सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
स्थानीय तह निर्वाचनमा यस नगरपालिकाबाट ३ सय २० जना निर्वाचनमा सहभागी भएकोमा जम्मा ५२ जना उम्मेदवारले मात्र समयभित्र निर्वाचन खर्च बुझाएका हुन् । समयमा निर्वाचन खर्च बुझाउनेमा प्रमुख पदका इन्द्रबहादुर बुढाथोकी र किशोर धिमाल, उपप्रमुख पदका प्रकाश भण्डारी, शिखा लिम्बू र सिता दुलाल छन् भने बाँकी रहेका ४७ जनामा वडाध्यक्ष र सदस्य पदका उम्मेदवार हुन् ।
निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुखसँग चार लाख ५० हजार रुपैयाँ र वडाध्यक्ष र सदस्यहरूको लागि दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । उक्त जरिवनामा भाद्र ३१ गतेको मितिले ६ महिनाभित्र दाखिला गर्न पनि आयोगले निर्देशन दिएको छ ।
समयमा निर्वाचन खर्च नबुझाउने प्रमुख र उपप्रमुख पदमा १२ जनाबाट प्रतिव्यक्ति ४ लाख ५० हजार रुपैयाँका दरले ५४ लाख र वडाध्यक्ष र सदस्य पदका २ सय ५६ उम्मेदवारबाट प्रति उम्मेदवार दुई लाखका दरले पाँच करोड १२ लाख गरी कूल पाँच करोड ६६ लाख रुपैयाँ जरिवना तिर्नुपर्ने भएको हो ।