हल्दीबारी ।
झापाको दक्षिण क्षेत्रका हल्दिबारीका सामुदायिक वनले व्यावसायिक रूपमा बेसार खेती गर्न थालेका छन् । हल्दिबारी गाउँपालिका रातमाटे र पाथीभरा सामुदायिक वनले बेसार खेती गर्दै आएका छन् ।
हल्दिबारीका सामुदायिक वनहरूले उपभोक्ता, सहयोगी संस्था र निकायको सहयोगमा बेसार खेती गरेका हुन् ।गत वर्षदेखि वन क्षेत्रमा शुरु गरिएको बेसार खेती राम्रोसँग फस्टाएको छ । थोरै लगानीमा धेरै आम्दानी हुने र मल र पानीसमेत नचाहिने हुँदा बेसार खेती सामुदायिक बनमा उपयुक्त भएको छ ।
यसरी उपभोक्ताले उत्पादन गरेको बेसारलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने तथा प्रशोधन र पेकेजिङ्ग गर्न सकेको खण्डमा हल्दिबारी बेसार ब्यवसायको केन्द्र बन्नेमा दुईमत नरहेको स्थानीयको भनाई छ ।
हल्दिबारीमा बेसार प्रसोधन केन्द्र र बेसार पेकेजिङ्ग उधोग स्थापना र सञ्चालन गर्ने तर्फ हल्दिबारी गाउँपालिकाको ध्यानाकर्षण जान जरुरी देखिएको छ । बेसार प्रसोधन केन्द्र र बेसार पेकेजिङ्ग उधोग स्थापना भए बेसार खेतीबाट हल्दिबारीमा रोजगारीसँगै आम्दानीको स्रोत समेत बन्ने स्थानीयहरुको भनाई छ ।
यता हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गाउँपालिकाले सक्ने अनुदान प्रदान गर्ने र प्रोत्साहन गर्ने बताएका छन् । आवश्यकता र मागको आधारमा गाउँपालिकाले पहल कदमीको भुमिका निर्वाह गर्ने समेत बताएका छन् ।