मेचीनगर । 

जिल्ला स्तरीय झापा र नगर स्तरीय मेचीनगरको संयुक्त अनुगमन टोलीले झापाको मेचीनगर—७ स्थित इटाभट्टामा रहेको पवन वेकरी उद्योगलाई सातदिनभित्र नगद १० हजार रुपैयाँसहित आन्तरिक राजस्व भद्रपुरमा उपस्थित हुन् पत्रचार गरेको छ ।

मेचीनगरपालिकाले  एकसाताभित्रमा  व्यवसायी कर नविकरण गर्न र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले एकहप्ताभित्रमा कार्यालयमा उपस्थित हुन् उद्योग सञ्चालकलाई पत्रचार गरेको छ । संयुक्त रुपमा जिल्ला तथा नगरस्तरीय अनुगमन टोलीले विहीबार अनुगमन गर्दा उद्योगमा विभिन्न कमजोरी देखिएका कारण उद्योग सञ्चालकलाई जरिवानासहित सम्बन्धित कार्यालयमा हाजिर हुन् पत्र दिइएको बताइएको छ ।

पवन वेकरी उद्योगका नाममा दर्ता रहेको त्यो उद्योगले पवन वेकरी उद्योग प्रालिका नाममा बील बिजक जारी गरेको अनुगमन टोलीले फेला पारेपछि कारवाही स्वरुप जरीवाना गराएको र एकथान डिजिटल तराजु (कम्प्यूटर काटा) समेत टोलीले जफत गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

चाडपर्वको बहनामा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले त्यसबाट उपभोक्तालाई  जोगाउन दुवै समितिले नगरका  मुख्यः बजारको अनुगमन शुरु गरेको मेचीनगर उपप्रमुखको सचिवालयले जनाएको छ । व्यवसायीले चाडपर्वको बहनामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बृद्घि गर्न सक्ने उपभोक्ताको गुनासो सुनिन् थालेपछि अनुगमनलाई तीब्र पारिएको अनुगमन समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिए ।

उपप्रमुख उप्रेतीले हरेक व्वयसायीले आफ्नो होटल पसलको सरसफाईमा धयान दिन, व्यवसायलगायत अन्य प्रमाण पत्र समयमै नविकरण गरी सवैले देख्ने स्थानमा राख्न, हरेक दिनको मूल्य सूची प्रष्ट देख्ने गरी राख्न व्यवसायीलाई सुझाव दिए ।