बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिकाले सडक सुन्दरताको लागि भद्रपुर रोडमा फूल रोप्ने कार्य शुरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सिजिएम जातको फूलको विरुवा रोपेर फूल रोप्ने कार्यको थालनी गरेकी हुन् । 

नगरपालिकाले बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गतको मुक्तीचौकदेखि धौलापुलसम्मको भागमा रहेको डिभाईडर भित्र विभिन्न जातका फूल रोप्ने कार्य अघि बढाएको हो । 

सिजिएम, मयुरधुपी, फक्सटेल पार्म, सितार लगायत विभिन्न जातका विरुवा रोप्ने नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कुनै पनि संघ संस्थाले फूल रोप्न चाहे दिन सकिने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले बताएका छन् । 

नगर प्रमुख प्रसाईसँगै नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दंवा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डाल्मीया, नगरका शाखा अधिकृत मेघराज वास्तोला र कार्यपालिका सदस्यहरुले फूलका विरुवा रोपेका थिए । 

नगरपालिकाले डिभाईडरमा केहि दिन अघिदेखि बिरुवा रोप्नको लागि उपयुक्त माटो ल्याएर बिच्छ्याएको थियो  ।