• चन्द्र बस्नेत 

सुरुङ्गा । 

आठौ संविधान दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्रका नागरिकलाई उज्यालो मास लाइट जडान गरी उद्घाटन गरेको छ ।

नगरपालिकाको ६० प्रतिशत र बिद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा कनकाई नगर क्षेत्र भित्रको सुरुङ्गा, दुर्गापुर, कोटीहोम र लक्ष्मीपुर क्षेत्रमा ४ थान मास लाईट जडान गरी  संविधान दिवसको अवसरमा बत्तिको उद्घाटन गरिएको हो । मास लाइटको नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी र   प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले  उद्घाटन गरेका हुन् । 

सोही उद्घाटन कार्यक्रमका बिच संविधान दिवसमा दिप समेत प्रज्ज्लन समेत गरिएको थियो । सुरुङ्गामा जडान गरिएको मास लाईट उद्घाटनपछि नगरप्रमुख पोखरेलले दशैं, तिहार लगायातका वेलामा मास लाईटबाट नगरवासीलाई थोरै भएपनि सुविधा पुग्ने विश्वास व्यक्त गरे । मास लाईट वाहेक कनकाई नगरपालिका क्षेत्रमा थप २ हजार लाईट समेत जडान गरिएकोमा चाँडै सञ्चालनमा आउने समेत नगर प्रमुख पाखेरेले जानकारी दिए। 

 यसअघि जोडेका लाईटहरु ठेकेदार कम्पनीको लापर्वाहीका कारण बल्न छाडेको भन्दै उनले सो कम्पनीलाई चाँडै कालो सुचीमा राखिने समेत जानकारी दिए । कार्यक्रममा बजार व्यावस्थापन समितिका उपाध्यक्ष मेघराज पाठक लगायातले उज्यालो नगरीका रुपमा कनकाईलाई विकास गर्नका लागि हात्ती प्रभावित क्षेत्रमा समेत मास लाईटको व्यावस्था गर्न नगरसमक्ष माग गरे ।

दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिएको हो । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न  १६ लाख रुपैयाँ खर्च भएको छ । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान गरिएको छ ।

सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । यो मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गरिएको हो । यो लाईट जडानसँगै कनकाईका मुख्य बजार क्षेत्र संविधान दिवसका दिनबाट झलमल बनेका छन् ।

यसैविच आठौ संविधान दिवसको अवसर पारेर नगर क्षेत्रका विभिन्न स्थानमा दिप प्रज्जलन गरिएको छ । कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदी लगायातको आतिथ्य रहेको थियो भने कार्यक्रम कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाईले सञ्चालन गरेका नगर प्रमुख पोखरेलको सोकीय सचिब विजय पाठकले जानकारी दिए ।