बिराटनगर ।
१ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रमको शुरु भएको छ । १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रम शुरु भएको हो ।
कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री राजन राई, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि बिराटनगरको रोडशेष चोकबाट शुभारम्भ भई संसारी माईस्थान, ट्राफिक चोक, जलजला चोक हुँदै जैन भवनमा पुगी कार्यक्रममा परीणत भएको थियो ।
कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै १ नम्बर प्रदेशका मुख्य मन्त्री राईले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाईएको हुँदा यस किसिमको कार्यक्रमले मानिसको चेतनामा बृद्धी भई आत्महत्याका घटनामा कमी आउने बिश्वास लिईएको बताए । उनले नागरीकको जीवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाढी बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको समेत बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले स्वागत गर्दै आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताए । उक्त अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताए । कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र हादुर आङवोले आत्महत्या गर्ने बिभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरीकहरुले आ–आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढेमा पक्कै पनि आत्महत्या दर घट्न सक्ने यस किसिमको सचेतना कार्यक्रम प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको बताए । कार्यक्रममा सामाजिक बिकास मन्त्री राजन राई र स्वास्थ्य मन्त्री यज राम यादवले आ–आफ्नो भनाई राख्दै आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ–आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताए।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु–सूचित गराउने उद्देश्य अनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताए । उनले नागरीकको जीवन रक्षा गर्ने यो कार्यक्रममा सबै निकायबाट साथ र सहयोगको अपेक्षा लिईएको समेत बताए।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको बर्तमान अवस्था सम्बन्धी तथ्याङक, चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रादेशिक अस्पताल बिराटनगरका डा.आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे स्पष्ट पारेका थिए ।
आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान २०७९, प्रदेश स्तरीय कार्यक्रम बिराटनगरमा र १ नम्बर प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा समुदाय–प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रम मार्फत हरेक टोल र समुदायमा पुग्ने गरी १ बर्षसम्म निरन्तर रुपमा संचालन भइरहने जनाइएको छ ।