बिर्तामोड । 

झापाको कनकाई नगरपालिका वडा नम्बर २ मा निर्माधिन रहेको कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा कन्काई, विर्तामोड र अर्जुनधारा नगरपालिकाको सहलगानी गर्ने सम्बन्धी भएको समझदारीका   टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको छ । 

विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणी तथा समाचारप्रति विर्तामोड नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको नगरका प्रवत्ता अग्निप्रसाद पाण्डेद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । 

लिमिटेडको लेखा परीक्षण प्रतिवेदन, संयुक्त लगानी परियोजना प्रस्ताव र विभिन्न चरणमा भएका समझदारी पत्र र निर्णयहरु नगरपालिकामा सुरक्षित रहेको नगरपालिकाले शुक्रवार बिज्ञप्ती जारी गर्दै कार्यालयमा आएर उक्त विषयमा थप बुझ्न, अध्ययन सकिने बिज्ञप्तीमा उल्लेख छ । 

कन्काई, विर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिका क्षेत्र भित्र उत्सर्जन हुने सबै प्रकारका फोहोरमैला व्यवस्थापन गरी कुहिने फोहोरबाट ग्यास र नकुहिने फोहोरबाट पेवर्स जस्ता बस्तु उत्पादन हुने गरी नीजि साझेदारी कार्यक्रम (पिपिपि ) अवधारणा अनुसार कार्य गर्न गरी उर्जा उद्योग स्थापना र संचालन गर्न मिति २०७६।०३।३० गते चार वटै नगरपालिका विच समझदारी पत्रमा हस्ताक्षर भएको नगरले जनाएको छ । 

उक्त परियोजनाको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नेष्ट ) को सहयोगमा श्री विण्डपावर नेपाल प्रा.लि. मार्फत फोहोरबाट उर्जा उत्पादन गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन भएर २०७६ आषाढ ८ गते नेपाल सरकार बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले स्वीकृत गरी परियोजनाको लागि नेपाल सरकारको अनुदान नीति २०७३ बमोजिम  ५ करोड ४६ लाख ४९ हजार ६० रुपैयाँ केन्द्रबाट उपलब्ध हुने पत्र समेत प्राप्त भएको नगरले जनाएको छ ।

त्यसपछि परियोजनाको निर्माण कार्य सूचारु भइरहेको सन्दर्भमा कोभिड १९ को विश्वव्यापी महामारीले परियोजनाको लक्ष्य अनुसार कार्य प्रगति हुन नसकेकोले परियोजनाले थप व्ययभार बेहोर्नु पर्ने अवस्था सृजना भएको नगरको बुझाई छ ।