झापा ।
कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले झापासहित देशभर विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा गर्दैछन् ।कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधनासहित पूजा गर्ने गरिन्छ । कलकारखानामा विशेष रूपमा सजाएर मजदुरहरुको सहभागीतामा यो दिवस मनाइने गरिन्छ । बालुवा तथा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्तिमा पूजा आराधना गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास तथा परम्परा रहि आएको छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरुको भनाई पाइन्छ ।
विश्वकर्मा पूजा अन्तरगत आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनको समेत पूजा आराधना गर्ने गरिन्छ ।वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् ।