झापा।

झापाको मेचीनगर नगरपालिका–६ मा रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ । शुक्रबार (आज) १ नम्बर प्रदेश आन्तरिक  मामिला तथा कानुनमन्त्री केदार कार्कीले भवनको उदघाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी असुरक्षित भए मात्र सयौं नागरिक सुरक्षित हुने बताएका छन् । उनले प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनुपर्ने बिषयमा जोड दिए । 

कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहने प्रहरी कर्मचारीहरुलाई  भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसला मिल्ने बताएका छन् ।

उनले प्रहरी चुस्त र दुरुस्त भई  नागरिकको सुरक्षामा खटिने भएकाले उनीहरुलाई सुधिायुक्त स्थानमा राखे मात्र जोश र उर्जाका साथ काम गर्ने बतावरण सिर्जना हुने बताए । उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसाको लागतमा निर्माण सम्पन भएको हो ।