झापा ।
प्रदेश नम्बर १ का १४ जिल्लाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संबैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट धमाधम प्रशिक्षण गराउँदै आएको छ ।
केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै स्थानमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षहरुका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरिरहेको छ । केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा शुरु गरेकोे कार्यक्रमलाई सम्बोधन गर्दै ११ वटा जिल्लाका वडाध्यक्षहरुलाई यसअघि नै सो तालिम प्रदान गरेको बताए । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३१ वटा वडाका वडाध्यक्षहरु सहभागी भएका छन् ।
उनले वडाध्यक्षहरुको भूमिका संघीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने कामहरुमा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताए ।जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषय वस्तुमा प्रशिक्षण प्रदान गरिने उनको भनाई छ ।
केन्द्रले पछिल्लो समय कर्मचारी, जनप्रतिनिधिलगायतलाई लक्षित गरेर विभिन्न तालिमको कार्यक्रमहरु गर्दै आएको जनाइएको छ ।