बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी दिएको छ । भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रालिलाई नगर अस्पताल भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदा समेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार (आज) चेतावनी सहितको पत्र काटेको हो ।
पत्रमा ३ दिन भित्र कार्य प्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटि जफत गरि कारवाही प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।
भवन २०७९ साल असार १ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तोकिएको समय भित्र काम सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदा समेत कार्य प्रगति नदेखिएपछि यस पटक अन्तिम पत्र काटेको प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण समयमा काम सम्पन्न नभएको बताएका छन् ।
भवनमा प्लोरिङ्ग, इलेक्ट्रीसिटि,झ्याल ढोका, रङ्ग रोङ्गन, प्लम्बिङ्ग लगायतको काम बाँकी रहेको नगरपालिकाका इन्जिनिर नरेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल निर्माण सेवा प्रालिले २०७७ साल असार ८ गते भवन निर्माणका लागि ५ करोड ५० लाख ७ हजार ७६० रुपैँयाँमा ठेक्का सम्झौता गरेको थियो ।