झापा ।
आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथीदेखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ ।
उक्त १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्य तिथिमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिने गरिन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।
दशैं र तिहार जस्ता ठुला चाड पर्वमा अन्य देवतालाई सम्झनु अघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा रहेको छ । सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको छ । यस वर्षको सोह्रश्राद्ध भाद्र २५ गते शुरु भएर असोज ९ गते समाप्त हुनेछ ।
सनातन हिन्दु धर्मावलम्बी आफ्ना पूज्य तथा मान्यताप्रतिको सद्भाव, आस्था, निष्ठा, विश्वास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ । त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्नेगरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । हिन्दु धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ ।
ती जुनिहरु मध्ये सर्वोकृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यू भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाईर मावलीसहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पुरा गर्ने परम्परा रहेको छ ।