बिर्तामोड ।

 बिर्तामोड उद्योग वाणिज्य संघले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै बिर्तामोडको शान्ति सुरक्षा, यातायात ब्यवस्थापन, पार्किङ ब्यवस्थापन, बिद्युत आपूर्ति नियमित तथा अन्य समसामयिक बिषयमा सम्बन्धित कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई ध्यानाकर्षण गराएको छ ।

 बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको चाडपर्व लक्षित अन्तरक्रिया कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले स्वागत गरेकी थिइन् ।

चाडपर्व नजिकिएसँगै बिर्तामोड क्षेत्रमा देखिएका समस्याको पहिचान गरी त्यसको समाधानको पहल गर्ने उद्धेश्यले बिर्तामोडमा रहेका प्रहरी , प्रशासन र बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधीलगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । बिर्तामोड क्षेत्रमा सवारी पार्किङ, विद्युत, उपभोक्ता ठगिने कालोबजारी, सडकको दुरावस्था, फोहोर व्यवस्थापन नहुनु लगायतका समस्या समाधान गर्न सबै जुट्नु पर्ने बताउँदै उनले त्यसका लागि बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका सबै संघ–संस्थासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार न्यौपाने, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक अशोककुमार जबेगू नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाका इञ्जिनीयर विभव पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उपभोक्ता मञ्चका अध्यक्ष वेदप्रकाश अग्रवाल, संघका निवर्तमान अध्यक्षकुमार भट्टराई, व्यवसायी राजेन्द्र थापा लगायतले बिर्तामोडमा देखिएका समस्या समाधान गर्न सवै पक्ष जुट्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गरेको प्रवक्ता सञ्जिव घिमिरेले जानकारी दिए ।