बिर्तामोड। 

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ ।कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको  बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका पुरस्कारको राशी समेत बृद्धि गरेको हो ।

संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरु मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण प्रसाई र सचिव राजेन्द्र संग्रौला सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि लोकराज ढकालको संयोजकत्वमा रेजिना गौतम सदस्य रहेको समिति गठन गरेको छ । पत्रकारिता पुरस्कार छनौट समितिमा संयोजकले एकजना सदस्य थप गर्नसक्ने संस्थाका अध्यक्ष प्रसाईले जानकारी दिए ।

त्यसैगरी यसअघि प्रदान गर्दै आएको विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा पुरस्कारको नाम परिवर्तन गर्दै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कार नामाकरण गरेको  संस्थाका महासचिव छविलाल खतिवडाले जानकारी दिए।

त्यसैगरी संस्थाले यसअघि वितरण हुँदै आएको पुरस्कारको राशीमा बृद्धि गरी तीनवटै पुरस्कारको राशी समान २५ हजार पुर्याएको छ । यसअघि पुरस्कारको राशी २१ हजार नगद र सम्मान पत्र रहेको थियो ।

स्थापनाको २० वर्ष पुग्दा संस्थाले कान्छो पुरस्कारका रुपमा नयाँ विधा थप गरेको छ । बैठकले फरक क्षमता भएका विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्ने लक्ष्यका साथ फरक क्षमताको विशेष प्रतिभा पुरस्कार को स्थापना गरेको हो । ११ हजार राशीको उक्त पुरस्कार यसैवर्षदेखि वितरण गरिने अध्यक्ष प्रसाईले बताए ।

२०५९ सालमा स्थापना भएको जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले स्थापनाकालमा बर्षोत्कृष्ट कृति पुरस्कारबाट पुरस्कार समर्पण शुरुसंगै त्यसयता वर्षेनी निरन्तरता पाउँदै आएको छ । साहित्य र छन्द संरक्षणका लागि क्रियाशील कोषले यो वर्षदेखि फरक क्षमता भएकाहरुका क्षेत्रमा पनि पुरस्कार थप गरेको हो ।