बिर्तामोड ।
महिलाहरुलाई पत्रकारितामा उत्पेरित, क्षमता बिकास र पेशामा कलम चलाउन सक्रियता बढाउने उदेश्यले नारी सञ्चार गृह झापाले ११ औं स्थापना दिवसको अवसर पारेर दुई वटा पुरस्कार घोषणा गरेको छ ।
गृहले शनिवार(आज) बिर्तामोडमा आयोजना गरेको ११ औं स्थापनाका दिवसका अवसरमा एकलाख एकहजार एकसय ११ रुपैयाँ राशीको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५ हजार ५ सय ५ रुपैयाँ राशीको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
गृहले स्थापना गरेको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार झापाका पत्रकारका संघ÷संगठनले वितरण गर्ने पुरस्कार मध्ये नै सायद ठूलो भएको अनुमान गरिएको छ । उक्त पुरस्कार गृहको २÷२ बर्षमा हुने अधिवेशनका दिन बितरण गरिने नारी सञ्चार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटीले बताइन् ।
गृहकी अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाको परिचय, कार्यक्रमको औचित्यमाथि प्रका तथा स्वागत गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले पारेको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ उपाध्यक्ष हिमा चेम्जोङले आफ्नो भनाई राखेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहित झापाका पत्रकारजन्य बिभिन्न संघ÷संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गृहकी सचिव भुमिका फियाक सुब्बाले गरेकी थिइन् ।