झापा ।
कर्तब्य ज्यान मुद्दाका फरार ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा साबिक सतासिधाम गाउँपालिका वडा नं.३ हाल शिवसताक्षी नगरपालिका वडा नं.८ का ३७ बर्षिय दिप्सन लावती रहेका छन् ।
झापा जिल्ला अदालतको मिति २०६३।०६।०३ गतेको फैसला पुनरावेदन परी तत्कालिन पुनराबेदन अदालतबाट मिति २०६५।०१।१७ गते जन्मकैद हुने ठहरी फैसला भएको थियो । सो फैसला उपर समेत पुनराबेदन परी सर्बोच्च अदालतबाट मिति २०६५।११।२३ गते पुनराबेदन अदालतबाट भएको फैसला सदर भएर जन्म कैद ठहरेका कर्तब्य ज्यान मुद्दामा फरार ब्यक्ति लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी समुह र जिल्ला प्रहरी कार्यालय झापाको फैसला कार्यन्वयनको लागी खटिएको संयुक्त प्रहरी टोलीले लावतीलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएर अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लावती १ बर्ष ७ महिना २४ दिन थुनामा बसिसकेका र १८ बर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेकोसमेत जनाइएको छ ।