अर्जुनधारा  । 

झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडा क्षेत्रमा बसोबास गर्ने सोम कुइँकेलको निधन भएको छ । उनी लामो समयसम्म नेपाली कांग्रेसमा क्रियाशील  सदस्यको रुपमा रहेर कांग्रेसको राजनीतिमा अरुलाई जिताउन तल्लीन रहँदै आएका थिए । आफू मर्दा पार्टीको चारतारे झण्डा ओढाइदिए पुग्छ भन्ने मान्यता राख्ने उनी  पार्टी भित्र निष्ठावान, इमान्दार र जुझारु कार्यकर्ताको रुपमा छुट्टै छवि बनाउन सफल भए ।

उनले अर्जुनधारा–४ मा नेकपा एमालेको किल्ला तोड्न यसपटक खेलेको भूमिका पार्टीका लागि अविस्मरणीय रह्यो । ३२ वर्षपछि एमालेको किल्ला भत्काउन सफल भएर छुट्टै छवि बनाएका कुइँकेलको आइतबार ६४ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले सिंगो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।

उनको निधनसँगै पार्टी सचिव हुमागाईसहित क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेश ख सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल र अर्जुनधारा–४ का पार्टी सभापति खेम काफ्लेले उनकै निवासमा पार्टीको चारतारे झण्डा ओडाउदै श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको आइतवार कनकाई माईमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

कुइकेलका श्रीमती ओमकला कुईकोल सहित दुई छोरा प्रेम र युवराज तीन जना छोरी तुलसा , यमुना र जुली रहेका छन् ।