हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार हल्दीबारी गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिले यातायात खर्च वापत दोहोरो सुबिधा लिएका मध्ये तीन जना निवर्तमान वडाध्यक्षहरूले फिर्ता गरेका छन् ।

वडाध्यक्षहरूले सवारी साधन वापतको  सुविधासहित मासिक रूपमा यातायात खर्च समेत भुक्तानी गरेकोमा महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख भए अनुसार ४७ हजार ५ सय २० रूपैयाँ कर बाहेक सन्चित कोषमा दाखिला गरेका हुन् ।

यसरी दोहोरो सुबिधा लिएका  जनप्रतिनिधि मध्ये वडा नम्बर १ अध्यक्ष त्रिलोचन सापकोटा, वडा नम्बर २ अध्यक्ष राजेन्द्र योङ्हाङ, वडा नम्बर ५ अध्यक्ष  शेरबहादुर नेम्वाङले रकम फिर्ता गरेका छन् ।

वडा नम्बर ३ की अध्यक्ष रोशन शिवाकोटीले लिएको दोहोरो सुबिधा भने अझै भुक्तानी नभएको गाउँपालिकाका आन्तरिक लेखा परिक्षक हेमराज बनले जानकारी दिए । उनका अनुसार निवर्तमान वडा नम्बर १ का अध्यक्ष सापकोटा र वडा नम्बर ५ का अध्यक्ष नेम्वाङले गत २०७८ चैत २१ गते र वडा नं. २ का अध्यक्ष योङहाङले २०७८ चैत २८ गते रकम कोषमा दाखिला गरेका थिए । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा एक जनाले रकम दाखिला नगरेका कारण चारैजनाको नाम आएको बताइएको छ । 

 निवर्तमान वडा नम्बर ३ की अध्यक्ष रोशन शिवाकोटीले मासिक दिएको भुक्तानी ४ हजार, वार्षिक भुक्तानी कर बाहेक ४७ हजार ५ सय २० फिर्ता गर्न बाँकी रहेको हल्दिबारी गाउँपालिकाले जानकारी दिएको छ ।

‘यो बिषय कार्यालय र कर्मचारी जवाफदेही हुनुपर्ने हो, ‘किनभने नियम र कानुनको ज्ञाता भनेका कर्मचारीहरू हुन्, जनप्रतिनिधिहरूलाई सबैकुरा थाहा पनि हुदैन’, हल्दिबारी वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष त्रिलोचन सापकोटाले भने जनप्रतिनिधिले आफै निर्णय गरेर लिएको कुरा हैन नितिगत रुपमा कुन जनप्रतिनिधिले कति सेवा सुबिधा पाउछ्न् तो कार्यालयले जान्नुपर्छ, कार्यालयले खातामा रकम जम्मा गरिदिएको हो,  बेरुजु आएको थाहा भएको आठ/नौ दिनमै रकम फिर्ता गरेको छु ।’