झापा ।
भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य र पितृकार्यका लागि आवश्यक पर्ने कुश घरमा राखेर पूजा गर्ने गर्छन् ।
ब्राह्मणहरू शास्त्रोक्त विधि अनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ भने वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पुज्ने गर्छन् ।
आजकै दिन छोराछोरीहरू आआफ्ना पितालाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई बुबाको मुख हेर्ने’ दिन र पितृ दिवस समेत भनिन्छ ।