विर्तामोड। 

नेपाल ट्रेड युनियन कांग्रेसले आसन्न संघीय र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै आबद्ध संस्थाका जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगर एवं वडा समितिहरुलाई सक्रिय रुपमा परिचालन गर्न आग्रह गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीको अध्यक्षतामा शुक्रबार सम्पन्न आबद्ध संस्थाका अध्यक्षहरुको सहभागितामा सम्पन्न कार्यक्रमका बीच अध्यक्ष अधिकारीले आग्रह गरेका हुन् । 

ट्रेड युनियनमा नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु गरी २५ बढी संस्था आबद्ध छन् । आबद्ध संस्थाका अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारलाई जिताउन जनलहर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी नेपाल महिला संघ अर्जुनधारा– ६ नं वडा समितिद्वारा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । सिके चिन्तन प्रतिष्ठानको सभाहलमा शुक्रबार आयोजित तीज मिलन कार्यक्रमलाई  सम्बोधन गर्दै नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले तीज पर्व परिवारको परिधिभन्दा बाहिर समाजको साझा र अन्तर्राष्ट्रिय भइरहेको बताए ।

उनले परम्परागत सांस्कृतिक महत्व बोकेको तीज पर्वमा केही विकृति विसंगती देखिएको हुँदा विकृतिको अन्त्य गरी संस्कृतिको जगेर्ना गर्न आग्रह गरे ।

महिला संघ वडा सभापति मिना चुडालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, जिल्ला सदस्य सरस्वती सिटौला, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापाका उपसभापति चन्द्रकला भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।  तीज गीतमा सांगीतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा सामुहिक दर पनि खुवाइएको थियो ।