बिर्तामोड ।
नेपाल आदिवासी जनजाती महासंघ बिर्तामोड नगरको तेस्रो अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ । महासंघका बिर्तामोड नगर अध्यक्ष गोपाल राईको अध्यक्षतामा बिहीवार भएको अधिवेशनमा महासंघका झापा अध्यक्ष भरतकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत महासंघ बिर्तामोड नगर उपाध्यक्ष राजकुमार राजवंशीले गरेको कार्यक्रममा पदमबहादुर तामाङ, कृष्ण उदास, बिर्तामोड वडा नम्बर ५ का निवर्तमान वडाअध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, राधा सुब्बा, धर्म लम्साम, महासंघ कनकाईका नगर अध्यक्ष लक्ष्मण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खो–खो खेलका राष्ट्रिय खेलाडी कुशल मेचेलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन महासंघ नगर सदस्य सिवन सरागी (मगर) ले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।