बिराटनगर।
१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा सञ्चालित प्रहरी जवान १३९ औ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
२०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा आयोजित एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
दिक्षान्त समारोहमा १५४ जना महिलासहित सातसय १४ जना प्रहरी जवानहरु दिक्षित भएका छन्। १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी बिराटनगरमा ५ सय २४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीमा ९२ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा संयुक्त रुपमा दिक्षित गरिएको हो ।
दिक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएका हुन् ।
दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा सपथ ग्रहण गराएका थिए ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राईसहित विभिन्न ९ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरी तथा पदाधीकारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानका अभिभावकहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।