झापा ।
प्रतिबन्धित लागू औषधसहित झापाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका वडा नम्बर ४ का ३५ बर्षिय जेमिल महमद, बिर्तामोड–५का २५ बर्षिय अर्जुन राजबशी र भारत बिहार प्रान्त किसनगञ्जका २८ बर्षिय जम्सेद आलम रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरेका जेमिल महमदलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागू औषध ब्राउन सुगर ७ ग्राम ९२ मिलिग्राम फेला परेपछि नियन्त्रणमा लिएको थियो ।
महमदलाई सोधबुझ गर्ने क्रममा राजबशी र आलम समेत संलग्न रहेको खुलेपछि हल्दिवारी ४ बाट नगद ७९ हजार रुपैयाँ र मे ६ प ५६१९ नम्बरको स्कुटीसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई झापा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।