झापा ।
जिल्ला प्रशासन कार्यालय झापाले नजिकिदै गएको महिलाहरुको महान पर्व हरितालिका तीजमा अनाश्यक तामझाम र तडकभडकसहितका कार्यक्रम नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार एउटा सूचना जारी गर्दै तामझाम तथा तडकभडकसहितका खर्चिला कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।
सामाजिक ब्यवहार(सुधार) ऐन २०३३ र सामाजिक ब्यवहार(सुधार) नियमावलीले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने बिषयलाई ब्यवस्थित र नियमित गरेको जनाउँदै आफ्नो परम्परा एवम् सामाजिक रितिरिवाजलाई निरन्तरता दिने साथै सम्बर्धन गर्ने बाहेकका अन्य कुनैपनि खालका खर्चिला र महँगा तीजसँग सम्बन्धित कार्यक्रम नगर्न जिल्लाका सम्पूर्णमा आग्रह गरेको छ ।
प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले अनावश्यक तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरे कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।