•  लक्ष्मी उप्रेती
 मेचीनगर । 
 तात्कालिन पञ्चायती व्यवस्था विरुद्घ उभिँदैं मुलुक परिवर्तनका निम्ति भूमिका निर्वाह गरेका झापा मेचीनगर–१५ की जोगमाया थापालाई मंगलबार नगरमा मृत्युपर्यन्त सम्मान गरिएको छ ।
झापाको धुलावारीमा अखिल नेपाल महिला संघ मेचीनगर कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रमका अवसरमा दिवंगत थापासहित विभिन्न विधाका ६ जनालाई सम्मान गरिएको थियो ।

 कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघका केन्द्रिय सचिव मेनुका काफ्लेलगायत विशिष्ट अतिथि, अतिथिहरुले दिवंगत थापालाई प्रदान गरेको सम्मान उनका छोरा प्रदिपकुमार थापाले ग्रहण गरेका थिए । जनताको सुःसूचित हुने प्रजातान्त्रिक एवम् नैसर्गिक अधिकारको मूल्य र मान्यतालाई सम्मानसहित राष्ट्रलाई सचेतना जगाउन २०५१ साल अखिल नेपाल महिला संघको अध्यक्ष भएर संगठन विस्तारमा छुट्टै पहिचान बनाउन गरेको त्यागको उच्च मुल्याङ्कन गदैं उनलाई मृत्युपर्यन्त सम्मान गरिएको आयोजले जनाएको छ ।

समाज परिवर्तनको पक्षमा रहेर  काम गर्दै जादाँ २०३५ सालमा तात्कालिन ज्यामिरगढी गाउँ पञ्चायतको निर्वाचनमा दिवंगत थापाका पति बलबहादुर थापा प्रधानपञ्चको प्रत्यासी बन्दा तात्कालिन पञ्चहरुले उनलार्ई उम्मेद्वार हुनबाट बञ्चित गरी पक्राउ गरेर हिरासतमा राखेका थिए । पतिलाई हिरासतमा राखेपछि जोगमायालाई उम्मेद्वार घोषणा गरिएको थियो । त्यस्तो अवस्थामा समेत जनताको साथले जोगमाया अत्यधिक मतले विजयी एकी थिइन् । दिवंगत जोगमायाको राजनीति जीवनीका बारेमा नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य भीम खवासले प्रष्ट पारेका थिए । सम्मान पत्र एमाले नेतृ कल्पना ओली सिटौलाले वाचन गरेकी थिइन् । 

 त्यसैगरी, नेकपा एमाले पार्टीका नेता कार्यकर्ताहरुलाई संरक्षण दिएर पार्टी निर्माणमा योगदान दिइएको भन्दैं देविमाया खवासलाई सम्मान गरिएको छ । पार्टी भूमिगत रहेका बखत पार्टी निर्माणमा जुटेका कम्यूनिष्ट नेता कार्यकर्ताहरुलाई संरक्षण दिएर खवासले निर्माणमा उल्लेखयीय योगदान गरे स्वरुप त्यसको उच्च मुल्याङ्कन गदैं सम्मान गरिएको हो । उनको सम्मान पत्र नेकपा एमाले कन्द्रिय सल्लाहकार परिषद सदस्य भीम खवासले ग्रहण गरेका थिए । 

 नोवल कोरोना भाइरस कोभिड १९ को महामारीमा आफ्नो जीवनको कुनै पर्वाह नगरी स्थानीयवासीलाई छिटो छरितोरुपमा स्वास्थ्य सेवा प्रदान गरेर संक्रमणबाट जोगाएको र स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा र मेचीनगर नगरपालिकाका स्वास्थ्यकर्मी मिलन शेर्पालाई संयुक्तरुपमा सम्मान गरिएको थियो । मानविय सेवामा समर्पित नेपाल रेडक्रस सोसाईटि मेचीनगर शाखाक अध्यक्ष कुसुम कोइराला र खेलकुदको माध्यमबाट नेपालको नाम अन्तरािष्ट्रय क्षेत्रमा चिनाउन सफल भएको भन्दैं मेनुका राउतलाई संघले सम्मान गरेको थियो ।

 प्रमुख अतिथि काफ्ले, विशिष्ट अतिथि संघका केन्द्रिय सदस्य एवम् मेचीनगर नगरउपप्रमुख मीना पोखरेल उप्रेती, नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाइ, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले दोसल्ला, अविर टीका र सम्मान पत्र प्रदान गरेका थिए । 
 
अखिल नेपाल महिला संघ मेचीनगर कमिटी अध्यक्ष जानुका न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि काफ्ले, विशिष्ट अतिथिहरु संघका केन्द्रिय सदस्य उप्रेती, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेललगायतले तीजको महत्वका बारेमा प्रकाश पारेका थिए । 
संघकी सचिव अनिता गरागाईँ, सहसचिव विनिता उराउँले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष हेमा सिटौला शिवाकोटीले स्वागत गरेकी थिइन् ।