झापा ।
नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश नम्बर १ दमकले थोक तथा खुद्रा विक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस नगरेको भन्दै सम्बन्धित नियकाको ध्यानाकर्षण गराएको छ ।
झापा, मोरङ, सुनसरीलगायतका बिभिन्न जिल्लाहरुमा दैनिक उपभोग्य खाद्य सामाग्रीहरुमा मूल्य सुची टाँस गर्नु पर्ने माग राख्दै आएको महासंघले मंगलबार (आज) बिज्ञप्ती जारी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
चामल, चिउरा, भुजा लगायतमा अस्वभाविक मूल्य बृद्धि भइरहेकोप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायहरुको ध्यानकर्षण समेत गराएको छ ।
त्यसैगरी चाउचाउ लगायतका बिभिन्न प्याकेजिङका नुडल्सका सामाग्रीहरुमा तौल घटाएर मूल्य भने अझ बढाएर पठाएको स्वयम ब्यवसायीहरुले बताउन थालेको बिज्ञप्तीमा उल्लेख छ । स्थानीय तथा जिल्ला स्तरीय अनुगमन समितिहरुले उक्त बिषयमा बजार अनुगमन तत्काल गर्न समेत महासंघले माग गरेको छ । सो अनुगमनमा नेपाली उपभोक्ता संरक्षण महासंघ प्रदेश १ को समेत प्रतिनिधित्व गराउन समेत माग गरिएको छ ।
उपभोक्ता हक, हित, अधिकार सम्बन्धी गरिएको ब्यवस्था तत्काल लागु गर्न समेत महासचिव विष्णुप्रसाद पोखरल र अध्यक्ष नारायण योङहाङद्धारा हस्ताक्षरित बिज्ञप्तीमा माग गरिएको छ । बिज्ञप्तीमा भनिएको छ कुनैपनि सामाग्रीमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बरसहित सम्पूर्ण बिबरण खुलाउनु पर्ने माग गरेको छ ।