बिर्तामोड ।
नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश नं १ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग र, होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुरु गरेको ‘वाह अलैंची’ अभियान सफल बनाउन सबैलाई एकजुट आग्रह गरेको छ । झापाको बिर्तामोडमा महासंघले आयोजना गरेको ‘वाह अलैंची’ अभियानबारे अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले एकजुट हुने प्रतिवद्धता जनाएका हुन् ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता तथा प्रदेश नं. १ का कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित सवैले एकजुट हुनु पर्नेमा जोड दिएका छन् ।
महासंघका अध्यक्ष भट्टराईले स्वागत तथा औचित्यमाथी प्रकाश पार्दै पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएपनि नेपालमै खपत कम भएपछि घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले वाह अलैंची अभियान शुरु गरिएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि दर्लामीले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रबर्द्धन गर्नका लागि आफू लागिपर्ने बताउँदै प्रदेश सरकारले यसका लागि बजेट समेत विनियोजन गरेको जानकारी दिए ।
त्यस्तै प्रदेश नं. १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले नेपाली अलैंचीको आन्तरिक खपत बढाउन विशेष कार्यक्रम ल्याइने बताए । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले भारत लगायत अन्य मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेलको आयात रोकेर नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा ‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले पूर्वी नेपालको पहाडी जिल्लाका कृषकहरूको आम्दानीको मुख्य स्रोत अलैंची भएपनि बहुउपयोगी अलैंचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेको बताए । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैंचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि नेपालमै यसको उपभोग न्यून भएकाले अलैंचीको घरेलु खपत बढाउन ‘वाह अलैंची’ अभियानमा आफू जोडिएको उनले बताए ।
आफू ‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ भएपछि आफूले झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरूसँग भेटघाट र अलैंचीखेती अवलोकन समेत गरेको बताए ।
कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, स्वीस सरकारको सहज प्रोजेक्टका टीम लिडर रिक भेन्टर क्याम्पलगायतले आ–आफ्नो भनाई तथा अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव नारायण चिमरियाले गरेका थिए ।