बिराटनगर । 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल तथा  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा सञ्चालन भएको एक दिने १ नम्बर प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी–२०७९ को उद्घाटन भएको छ । 

१ दिने प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका हुन् । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु वीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयवीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरिय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्की, आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, उच्च अदालत बिराटनगरका सह–न्यायाधिवक्ता कोषहरी निरौला, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदी, उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलिया, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।  

उद्घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम ढकालले  स्वागत तथा कार्यक्रम बारे प्रकाश पारेका थिए। कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १ सय ५० जनाको उपस्थित रहेको थियो ।