बिर्तामोड । 

झापाको बिर्तामोडमा नेवार समुदायले सामुहिक  क्वांटी पुन्ही तथा लाखें जात्रा मनाउने भएको छ । नेवाः पासा मुना पुचः बिर्तामोड नगरको आयोजनामा आगामी शनिवार सामुहिक  क्वांटी पुन्ही तथा लाखें जात्रा गर्ने भएको बिहीवार(आज) बिर्तामोडमा पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको हो ।

नेवार समुदायको कला, सांस्कृति, भेषभुषा, रहनसहन, खानपानसहित क्वांटी पर्व मनाइन लागेको नेवाः पासा मुना पुचः बिर्तामोडका नगर अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी शनिवार सामुहिक रुपमा क्वाटी भोज खुवाइने जसमा ९ वटा परिकार रहनेछन् ।

परिकारहरुमा चिउरा, दालको बारा, तोरीको साँग, छैला, सेतो बोडीको शब्जी, सुकुटी, माछा, मेथीको आचारलगायत उपलब्ध भएका परिकारहरु रहने अध्यक्ष श्रेष्ठले बताए । २८ बर्षअघि स्थापना भएको नेवाः पासा मुना पुचः सांगाठानिक रुपमा बलियो भन्दै गएको उनले बताए । सहयोग गर्ने उदेश्यले गठन भएको नेवा सहायताले बिभिन्न सामाजिक कार्य समेत गर्दै आएको अध्यक्ष श्रेष्ठले बताएका छन् । नेवाः पासा मुना पुचः बिर्तामोड नगरमा करिब ३ सय परिवार आवद्ध रहेका छन् भने अन्यलाई पनि समावेश गराइदै आएको जनाइएको छ । 

नेवारी समुदायको कला, भेषभुषा, खानपान परिकार नयाँ पुस्तालाई थाहा नहुने गरेकाले त्यो जानकारी गराउने उदेश्यले पनि कार्यक्रमको आयोजना गरिएको कार्यक्रमकी संयोजक शर्मिला शाक्यले बताइन् ।  उक्त कार्यक्रमका लागि अनुमानित ३ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । 

सोही कार्यक्रमकाबीच नेवार समुदायबाट सामुदायिक र नीजि बिद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुईजना छात्र र दुईजन छात्रालाई सम्मान गरिने छ । त्यस्तै बिर्तामोड नगरपालिकाका वडा नम्बर ४ का जनप्रतिनिधि केशव श्रेष्ठ, वडा नम्बर १० का जनप्रतिनिधि धनमाया श्रेष्ठ, डा. सलिना श्रेष्ठ र समुदायका दिनेश शाक्यलगायतलाई सम्मान गरिने कार्यक्रमकी संयोजक शाक्यले जानकारी दिइन् । लाखेंसहित मनोरञ्जानात्मक सांगेतिक कार्यक्रमसमेत गरिने जनाइएको छ । 

पत्रकार भेटघाटका क्रममा नेवाः पासा मुना पुचः बिर्तामोड नगर निवर्तमान अध्यक्ष इश्वरा श्रेष्ठ, उपाध्यक्ष तथा कार्यक्रमका अर्थ संयोजक राजिव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव कमल श्रेष्ठले गरेका थिए ।