भद्रपुर । 

चाडबाड नजिकिँदै गर्दा जिल्लामा बढ्दै गएको चोरीका घटना नियन्त्रण गर्न र आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न माग गर्दै झापा उद्योग वाणिज्य संघले झापाका प्रमुख जिल्लाा अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।संघले मंगलबार भद्रपुर नगरपालिकालाई बुझाएको ज्ञापनपत्रको बोधार्थ आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाएको हो ।

खासगरी, जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा चोरीका घटना बढ्दै गएकोले आवश्यक सुरक्षा व्यवस्थाको मागसहित भद्रपुरका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दै संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आज ज्ञापनपत्र बुझाएको कार्यालय संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष खड्क लिम्बूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ रिजाल र प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई बुझाएको थियो । टोलीमा उपाध्यक्ष सन्तोष धमला, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दुवाडी, शीला तामाङ, सदस्य बाबुराम पराजुलीको सहभागिता थियो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पोखरेलले भद्रपुर बजारमा चोरीका घटना बढिरहेकोमा आफू पनि चिन्तित रहेको बताउँदै नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्थाका लागि आफूले पहल गर्ने बताए । उनले भद्रपुर क्षेत्रमा सिसि टिभि क्यामेराको पनि कमी देखिएको भन्दै पर्याप्त क्यामेरा जडानका लागि नगरपालिकाले जिम्मेवारी लिने र त्यसको लागत–सहभागिताका लागि संघले पनि सहयोग पुर्याउन आग्रह गरे । 

नगरपालिकामा बुझाइएको व्यहोराकै ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुधबार बुझाउने कार्यक्रम रहेको कार्यालय सचिव खतिवडाले जानकारी दिए । ज्ञापनपत्रमा उपाध्यक्ष सन्तोष धमलाको हस्ताक्षर रहेको छ ।