बिर्तामोड । 

निराकर सरसफाई सेवा प्रालिले नगरले डम्पिङ साइटको ब्यवस्था नगरेका कारण फोहोरमैला ब्यवस्थापन गर्न समस्या उत्पन्न भएको जनाएको छ ।  

प्रालिले बुधवार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी बिर्तामोड नगरपालिकाले डम्पिङ साइटको उचित ब्यवस्था नगरेकाले फोहोर मैला संकलनमा समस्या भएको जनाएको हो । 

गत साउन १ गतेदेखि डम्पिङ साइटको अभावका कारण कम्पनीले फोहोर संकलन गर्न नसकेको कम्पनीका सुपरभाइजर अग्निकुमार भट्टराईले बताएका छन् । डम्पिङ साइटमा समस्या आएपछि गाडीमा लोड भएका फोहोर गाडीमै रहेकाले कम्पनीलाई आर्थिक भार थपिएको सुपरभाइजर भट्टराईले जानकारी दिएका छन् । 

नगरपालिका र कम्पनीबिच भएको सम्झौता अनुसार कम्पनीले फोहोर संकलन गर्ने र डम्पिङ साइटको व्यवस्था नगरले गर्ने भएको कम्पनीकी कर्मचारी लीला बास्तोलाले जानकारी दिइन् । नगरबासीलाई फोहोरमैलाका कारण भएको समस्या नगरले नै समाधान गर्न डम्पिङ साइटको चाँडो ब्यवस्था गर्नु पर्ने उनले बताइन् । 

उनका अनुसार कम्पनीले फोहोर नउठाएको होइन तर फोहोर फ्याक्ने ठाउँ नगरले उपलब्ध नगराएका कारण फोहोर उठ्न नसेको हो । 

फोहोर संकलन नहुँदा ३३ जना कर्मचारी र सवारी साधनका कारण आर्थिक मारमा कम्पनी परेको कम्पनीले जनाएको छ । फोहोर संकलन नभएदेखि रकम समेत संकलन नभएको बताइएको छ ।  नगरले कम्पनीलाई देखाएर आफु पन्सिने कार्य भइरहेको कम्पनीले जनाएको छ ।