अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित दास पुल छेउको भिमसेन थान मन्दिरमा साप्ताहिक पुराण आयोजना हुने भएको छ । 

भिमसेन थान संरक्षण समितिको आयोजना तथा धार्मिक अनुष्ठान सेवा समितिको सह–आयोजनामा आगामी साउन ३० देखि भदौं ५ गतेसम्म सार्वजनिक श्रीमद् भागवत महापुराण आयोजना हुने भएको हो । 

आयोजकले बुधवार (आज) भिमसेन थान मन्दिरमा पत्रकार भेटघाटका क्रममा पितृ उद्धार तथा विश्व शान्तिका निमित्त पुराणको आयोजना गरिएको जनाएको छ । धार्मिक अनुष्ठान सेवा समितिको १०८ भागवत अन्तरगतको एघारौं सार्वजनिक पुराण उक्त स्थानमा आयोजना गरेको धार्मिक अनुष्ठान सेवा समितिका अध्यक्ष माधवशरण खनालले जानकारी दिए । 

राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत उपस्थिति रहने उक्त पुराणमा पण्डित रङ्गराज न्यौपानेले कथा बाचन गर्ने तथा उपबाचकमा पण्डित माधवशरण खनाल रहने भिमसेन थान संरक्षण समितिका अध्यक्ष प्रभात मानन्धरले बताए । उनका अनुसार प्रत्येक बर्ष उक्त मन्दिरमा यस्ता ठूला कार्यक्रम गर्ने योजना बनाइएको छ ।

पुराण उद्घाटनको अवसरमा बिभिन्न जातजातीको झाँकीसहित उक्त मन्दिरबाट शनिश्चरेसम्म कलश यात्रासहित र्याली गरिने अध्यक्ष मानन्धरले बताएका छन् । 

२०६४ सालमा स्थापन भएको उक्त मन्दिरमा पहिलो पटक सवैभन्दा ठूलो कार्यक्रम आयोजना हुन लागेको भिमसेन थान संरक्षण समितिका सचिव अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रमका लागि अनुमानित ६ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । उक्त खर्च स्थानीय दाता तथा पुराणमा संकलन हुने भेटीबाट सम्पन्न गरिने आयोजकले जनाएको छ ।