भद्रपुर । 

झापाको सदरमुकाम रहेको भद्रपुरमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी–व्यवसायीले आवश्यक सुरक्षा व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा मंगलबार (आज) नगरपालिका पुगेको उद्योगी–व्यवसायकिो टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा केही दिन यता चोरीका घटना बढ्दै गएका छन्, विभिन्न कारणले निरन्तर व्यवसाय खस्कँदो अवस्थामा रहँदा आर्थिक रुपमा समस्या भोग्दै आएका उद्योगी–व्यवसायी एकपछि अर्को चोरीका घटनाले थप आर्थिक क्षति व्यहोर्न बाध्य भएका छन् एकातिर भने अर्कोतिर व्यक्तिगत तथा व्यावसायिक असुरक्षा पनि बढेको छ ।’ 

त्यसैगरी ज्ञापनपत्रमा भनिएको छ ‘लगातार दिनदहाडै चोरीका घटना भइरहनुले भद्रपुर क्षेत्रमा सुरक्षा व्यवस्थाको कम–जोरीलाई उजागर गर्दछ, यसर्थ, यस विषयमा स्थानीय सरकारको रुपमा रहेको भद्रपुर नगरपालिकाको ध्यानाकर्षण गराउन चाहन्छौं ।’  

ज्ञापनपत्र बुझाउन नगरपालिका पुगेको टोलीमा संघका उद्योग उपाध्यक्ष प्रज्वल राई, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दुवाडी, सदस्य पवन श्रेष्ठ, यदुनन्दन शाह रौनियार, अविनाश नाहाटा, कार्यालय सचिव दुर्गाप्रसाद खतिवडासमेतको सहभागिता थियो ।

नगरपालिकामा बुझाइएको व्यहोराकै ज्ञापनपत्र जिला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापामा बुधबार बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।