सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका –१ चतरा स्थितमा सोही स्थानका लक्ष्मण बिकको औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अनिल बराइली रहेका छन् ।

पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडी काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको थियो ।  ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले घटनाको सुक्ष्म अनुसन्धान थालेको चोरी भएको २४ घण्टा नबित्दै चोरीमा सम्लग्नलाई पक्राउ गर्न सफल भएको छ ।

अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराईलीको घरकोठा भित्र खानतलासी लिदाँ दराज पछाडी कालो झोलामा लुकाएर राखेको चोरीको सुनका गरगहनाहरु  ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको हो । चोरीएका सुनको गरगहनाहरु बरामद भएसगै अनिल बराईलीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।