बाह्रदशी ।

नेपाल रेडक्रस सोसाइटी झापाँंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । 

विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो । 

निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी झापासँग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए । सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्रप्रसाद चम्लगाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गरेका छन् । 

गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आवश्यक गरेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । 

गत वर्ष ३५० परिवारका चार सय जनाभन्दा बढी नागरिककले निःशुल्क रगत लिएको बताइएको छ । चालू आर्थिक वर्षका लागि समेत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट बाह्रदशी वासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । 

योसंगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ भने यस अघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले समेत आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले बताए ।