बिराटनगर ।
उदयपुरको बेलका नगरपालिका–८ डुब्रिबोटेमा सप्तकोशी नदीले बुधवार (आज) बिहान ४ बजेदेखि बाँध कटान गरेपछि सिसौली बस्तीमा डुबान शुरु भएको छ ।
उक्त स्थानमा पानी पसेपछि नेपाल प्रहरीलगायत नेपाली सेना र सशस्त्र प्रहरी बल समेतले डुवानमा परेका स्थानीय वासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् । डुवानबाट प्रभावित स्थानीय वासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।
सप्तकोशी नदीले बाँध कटान गरी बेलका नगरपालिका–८ को सिसौली बस्ती र बेलाका नगरपालिका–३ को भाटेपुल बस्तीमा बाढी पसेपछि डुवानबाट प्रभावित भएका ९ सय घर परिवारलाई बेलका नगरपालिका–९ को डुँडखोला सामुदायिक भवन र सामुदायिक बिद्यालयको भवनमा तथा अन्य सुरक्षित स्थानहरुमा स्थानान्तरण गर्ने कार्य भईरहेको छ ।
डुवान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्वधार बिकास मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराह बाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्वर बाहिनी इटहरीका प्रमुख सेनानी, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी समेतले स्थलगत अवलोकन गरेका छन् ।