अर्जुनधारा ।  

झापाको अर्जुनधारा–९  नमूना सामुदायिक वन उपभोक्ता समूहमा १४औं राष्ट्रिय विभूति एवम् नेपाल सम्वत्का प्रर्वतक शंखधर साख्वाको शालिक निर्माण हुने भएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल सो क्षेत्रमा नेवाः देयः दबू अर्जुनधारा नगर समितिले शंखधर साख्वाको शालिक निर्माण गर्ने भएको हो ।

खस–आर्य, राई, लिम्बू, सुनुवार र चौधरी समुदायको धार्मिक मठ मन्दिर रहेको सो क्षेत्रमा शालिक निर्माणको लागि आवश्यक प्रक्रियासहित समूहलाई जानकारी गराएको समितिका सचिव सन्तोषकुमार श्रेष्ठले जानकारी दिए ।

चर्चित पर्यटकीय स्थल सुखानी शहीद स्मृति उद्यान र कछुवा उद्धार तथा संरक्षण केन्द्रसँगै रहेको त्यस क्षेत्रमा भूवनेश्वर शिव पाञ्चायन आनन्द धाम, किरात याक्थुम चुम्लुङको माङहिम, किरात राई यायोक्खाको माङखिम, काली मन्दिरलगायत रहेको छ ।

त्यसैगरी महागुरु फाल्गुनन्द लिङदेन स्मृति प्रतिष्ठानले १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुन लिङदेनको शालिक निर्माण गरेको सोही क्षेत्रमा पहिलो शहिद लखन थापाको शालिक निर्माणाधीन अवस्थामा रहेको छ । पहिलो शहिद थापाको शालिक नेपाल मगर संघले निर्माण गर्ने भएको हो । यसैबीच नाग पञ्चमीको अवसरमा मंगलबार नेवा देय दबु अर्जुनधारा नगर समितिले शालिक निर्माणस्थलमा शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दबुका केन्द्रीय सचिव दिनेश शाक्य र अध्यक्ष रुद्रमणि श्रेष्ठले संयुक्तरुपमा पूजाअर्चना गरेका थिए । शंखधर साख्वाको शालिक निर्माण पश्चात् शिव मार्गी र बौद्ध मार्गी श्रेष्ठहरुलाई लक्षित गरी दुवै शिव मन्दिर र बौद्ध गुम्बा बनाउने लक्ष्य समितिको रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सोही कार्यक्रममा नाग पञ्चमीदेखि कृष्णजन्माष्टमी सम्म सञ्चालन हुने लाखेजात्राको पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं.१ का सांसद् वृखबहादुर प्रधान, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतलाल श्रेष्ठ, महासंघ नगरका अध्यक्ष जगत राना मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका सदस्य वसन्तकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव श्रेष्ठले गरेका थिए ।