मेचीनगर ।

मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको छ । नगर कार्यपालिकाको वैठकले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको हो ।

मेचीनगरमा दर्ता गरी प्रकाशन प्रसारण भईरहेका संचार गृहको स्थायित्व र संस्थागत विकास गर्न आवश्यक देखिएकोले स्थानीय सरकार संचालन ऐन २०७४ र मेचीनगर नगरपालिकाको प्रशासकीय कार्यविधि २०७५ को दफा ४ अनुसार नगर सञ्चार प्रतिष्ठान गठन तथा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरी जारी गरिएको छ । प्रतिष्ठानमा १ जना अध्यक्ष, ३ महिलासहित ७ जना सदस्य र १ जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

अध्यक्ष हुनलाई पत्रकारीता वा अन्य विषयमा स्नातक तह उतिर्ण गरी सञ्चार क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनु पर्ने, सदस्यको हकमा न्युनतम ३ वर्ष सञ्चार क्षेत्रमा अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ भने सदस्य सचिवको हकमा सञ्चार क्षेत्रमा न्युनतम ५ वर्ष अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ ।

नगरभित्रका तथा बाहिरका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा सूचना, विवरणहरु तथा लोककल्याणकारी विज्ञापनका सम्बन्धमा प्रतिष्ठानको सिफारिसमा नगरकार्यपालिकाले निर्णय गर्नेछ ।