बिर्तामोड ।
क्यूआईपी कार्यक्रम अन्तरगत नेपाली सेनाले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
झापा गाउँपालिका– ७ मदरगाछमा रहेको जनकल्याण माविमा श्री नयाँ श्रीनाथ गणको संयोजकत्वमा ३२ लाख १८ हजार आठ सय ५५ रुपैंया ७१ पैसाको लागतमा निर्माण गरएको भवन हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाले निर्माण गरेको कक्षा– कोठा १, सभाहल १ र शौचालय २ सहितको विद्यालय भवन पूर्वी कमाण्ड हेड्क्वाटरका कमाण्ड सेनापति उपरथी सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।
नेपाली सेना र आमनागरिक बीच परापूर्वकालदेखि नै अन्योन्याश्रित सम्बन्ध रहदै आएकोमा सैनिक र नागरिक बीच सुमधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन नेपाली सेनाले युद्ध बाहेकका सैनिक गतिविधिहरुलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्न स्थान विशेषको आवश्यकता अनुरुप वातावरण सुधार तथा संरक्षण, प्रकोप व्यवस्थापन, धार्मिक–सांस्कृतिक क्षेत्रहरु र भौतिक पूर्वाधार निर्माण लगायतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिदैं क्यूआईपी कार्यक्रमहरु संचालन गर्दै आएको नेपाली सेनाले जनाएको छ ।
नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, श्री नं २ बाहिनी र श्री नं।२१ बाहिनीका बाहिनीपतिहरु, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख, श्री नयाँ श्रीनाथ गणका गणपति, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, झापा गांउपालिका शिक्षा समन्वय ईकाई प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष, शिक्षक–शिक्षिका लगायत स्थानियबासीहरुको सहभागिता रहेको थियो ।
नेपाली सेनाले समाजमा विभिन्न कार्यक्रम गर्दै सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ । शिक्षा, स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नेपाली सेनाले झापाका नागरिकको मन जित्न सफल भएको छ । सर्पदंशका विरामीका लागि भरपर्दो सेवा प्रदान गर्दै आएको नेपाली सेनाले शिक्षाको विकासका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । श्री नयाँ श्रीनाथ गण चारआलीले नागरिकको भावना अनुसार समाजमा उल्लेख्य काम गरेको भनदै प्रशंसा हुदैं आएको छ ।