• उद्धव पुरी 

बुट्टाबारी । 

परोपकारी तथा सामाजिक कार्य गर्दै आएको बन्दी सहायता नेपालले पुल, माछा पोखरी र पौडी पोखरी निर्माण गरेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा रहेको बन्दी सहायता नेपालको पूर्वाञ्चल शाखाले बिहीवार (आज) पुल, माछा पोखरी र पौडी पोखरी उद्घाटन गरेको हो । 

पुल, माछा र पौडी पोखरीको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका हुन् । उक्त पोखरी र पुल मगर एशोसिएसन युएसए, मगर संघ बुष्टन च्याप्टर, मगर संघ न्यू जर्शी च्याप्टर र बाल्टीमोर च्याप्टर यूएसएको संयुक्त आर्थिक सहयोग ९ लाख रुपैयाँमा निर्माण गरिएको संस्थाका सचिव तथा जुनकिरी बिद्यालयका प्रध्यानाध्यापक रञ्जित परियारले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख तामाङले नगरमा रहेको बालगृह र बन्दी सहायता नेपाल नगरको गौरब भएको बताए । उनले उक्त गौरबका लागि आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । 

कार्यक्रमकी बिशिष्ट अतिथि तथा बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानाले एउटा एनजीओ र सरकार मिलेर समाज सुधार गर्न सक्ने बताइन् । ‘नगर र वडाले अनाथ, अपाङ्ग, असाहय साथै बन्दी सहायताका बालबालिकालाई सहयोग गर्नुपर्छ’ रानाले भनिन् ‘ अनाथ बालबालिकालाई राम्रो शिक्षादिक्षा दिन सके मात्र अपराध घट्छ ।’ उनले आफुले ३३ बर्षदेखि अपराध कसरी हुन्छ र के गर्दा न्युनिकरण गर्न सकिन्छ भनेर अनुसन्धान गरिरहेको जिकिर गरिन् । बालबालिकाका लागि नगरले छुट्टै बजेट विनियोजन गरिदिनसमेत आग्रह गरेकी थिइन् । उनका अनुसार कसैले पनि उनलाई दिएको अवार्ड तथा सहयोगले बालगृह तथा बन्दी सहायता नेपाल  सञ्चालन भएको छ । 

bandi

सोही कार्यक्रमका बिच  बुद्धशान्ति–२ का हाल अमेरिका बस्दै आएका मदन पाठकलाई सम्मान गरिएको थियो । पाठकले बन्दी सहायता नेपाललाई विभिन्न आर्थिक सहयोग गर्दै आएका छन् भने बार्षिक एकलाख ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् । 

बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरका निवर्तमान मेयर हरिकुमार राना, वडा नं. ११ का वडाअध्यक्ष खगेन्द्र इङनामलगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत उपाध्यक्ष अर्जुनकुमार थेवेले गरेको कार्यक्रममा सामाजिक ब्यतित्व शेरबहादुर थापा, वडा सदस्य सुशिला गिरी, शिक्षासेवी हस्त परियारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा जुनकिरी बिद्यालयका प्रध्यानाध्यापक रञ्जित परियारले गरेका थिए ।